थाकिन्न रैछ कहिल्यै उकोलो चढ्दा पनि
पीरतिमा त अहो Û चिप्लेर लडदा पनि
पुतली हुँ कि आफू बती पो हो कि माँया
जाउँ त्यही झैँ लाग्छ पखेटा डढ्दा पनि
धोखा भयो त के भो, मजा छ
सम्झनैमा अतीतका पुराना प्रेमपत्र पढ्दा पनि
राधा र कृष्णकोझैँ संयोग–वियोग हो माया
चुलिन्छ यो त झन्झन् दुरी नै बढे पनि !!
जिन्दगीको आज न्यानो सलाम आएकोछ
मेरो नाममा एउटा रातो खाम आएकोछ ।
अँध्यारोमा छामछुम गर्दै खोलेँ जब दैलो
दैलोमा धेरैपछि मेरो घाम आएको छ ।
उजाड बाटो जिन्दगीको धेरै हिँडेपछि
बल्ल आज बसन्तको याम आएकोछ ।
धेरै धेरै लामो यात्रा हिँडदै हिँडदै जाँदा
आज बल्ल थकाइ मार्ने ठाम आएकोछ !!
जीवन कैले लघुकथा कहिले उपन्यास हुन्छ
कहिले उर्लिदो खहरे खोला कहिले प्यास हुन्छ ।
म देखि जति टाडा जति दु.खी भए पनि
अन्तत: हामी दुबैको सम्मिल्लित इतिहास हुन्छ ।
प्रकाश होस दिनको अथवा रातको अन्धकार
जुन, तारा सूर्य उदाउने त्यो एउटै आकाश हुन्छ ।
छायाँहीन मध्यान्हको नरमाइलो खडेरीमा
तिमी जहाँ भए पनि मन सँगै उदास हुन्छ ।
आकाश कैले म हुँदा तिमी धर्ती हुन्थ्यौ कैले
ऋतु बदलिदाँ दुबैको सँगसँगै उपहास हुन्छ !!!
अचेल पीडाको घार भएकोछु
फेरि मान्छेको शिकार भएकोछु
बजाए धेरैले हुँदा सारङ्गी
अहिले चुँडिएको तार भएकोछु
निर्वाध चिथोर्छन, हरेक पल
मुर्छा त्यसैले बारम्बार भएकोछु
निस्सासिएर अभावको भीडमा
कसरी भनुँ म पार भएकोछु !!!!!!

No comments:
Post a Comment